दसैँलाई लक्षित गर्दै सखुवा खसीबोका बजार तीन दिन सञ्चालन हुने


जनकपुरधाम । दसैँमा खसीबोकाको माग र खरिदबिक्री बढेपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ स्थित सखुवा मधेसी खसीबोका हाटबजार तीन दिन सञ्चालन हुने भएको छ।

बजार व्यवस्थापन समितिका अनुसार दसैँका लागि खसीबोका खरिद गर्ने उपभोक्ता तथा बिक्रीका लागि ल्याउने किसान र व्यापारीको सुविधालाई ध्यानमा राख्दै बिहीबार, शुक्रबार र शनिबार बजार सञ्चालन गर्न लागिएको हो।

यसअघि उक्त हाटबजार सातामा दुई दिन मङ्गलबार र शनिबार मात्र सञ्चालन हुँदै आएको थियो। दसैँ नजिकिएसँगै खसीबोकाको माग बढ्नुका साथै खरिदबिक्री गर्नेको चापसमेत बढेकाले बजार सञ्चालनको अवधि थप गरिएको बजारका ठेकेदार अनिल चौधरीले बताए।

चौधरीका अनुसार चाडपर्वका बेला उपभोक्ताले आफूलाई आवश्यक खसीबोका खरिद गर्न र किसान तथा व्यापारीले सहज रूपमा बिक्री गर्न सकून् भन्ने उद्देश्यले बजार सञ्चालनको समय बढाइएको हो।

सखुवास्थित खसीबोका बजार स्थानीय किसान तथा पशुपालकका लागि आफ्नो उत्पादन बिक्री गर्ने महत्त्वपूर्ण स्थल हो। किसानले घरमा पालेका खसीबोका बजारमा ल्याएर बिक्री गर्ने भएकाले दसैँको समयमा यहाँको कारोबार बढ्ने गरेको छ।

व्यापारी महेन्द्र यादवले खसीबोकाको खरिदबिक्री बढेसँगै बजारमा चहलपहल बढेको बताए। बजार तीन दिन सञ्चालन हुँदा उपभोक्ताले आफूलाई अनुकूल समयमा खसीबोका खरिद गर्न तथा किसान र व्यापारीले बिक्री व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ।

दसैँमा घरघरमा मासुका लागि खसीबोका खरिद गर्ने चलन रहेकाले यस अवधिमा बजारमा उपभोक्ताको चाप बढ्ने अपेक्षा गरिएको छ। बजार सञ्चालनको अवधि थपिएसँगै स्थानीय किसान, पशुपालक र व्यापारीलाई आफ्नो उत्पादन बिक्री गरी आम्दानी गर्ने अवसरसमेत बढ्ने विश्वास गरिएको छ।

चाडपर्वका बेला खसीबोकाको माग उच्च रहने भएकाले बजारमा व्यवस्थित खरिदबिक्री, उचित मूल्य र उपभोक्ताको सहजतालाई ध्यान दिनुपर्ने आवश्यकता रहेको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार