जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा बिरामीको चाप बढ्दै जाँदा बेड र जनशक्ति अभावका कारण उपचार सेवा प्रभावित भएको छ । आकस्मिक कक्षका २५ वटै बेड भरिएपछि बिरामीलाई स्ट्रेचर र बेन्चमा राखेर उपचार गर्नुपर्ने अवस्था छ ।
शुक्रबार बिहान आकस्मिक कक्षमा सर्पदंश र अन्य समस्याबाट पीडित बिरामीले बेड नपाउँदा बेन्चमै बसेर उपचार गराइरहेका थिए । अस्पतालका चिकित्सकका अनुसार २५ बेड क्षमताको आकस्मिक कक्षमा थप स्ट्रेचर र बेन्चसमेत प्रयोग गरेर ४० देखि ५० जनासम्म बिरामीको उपचार भइरहेको छ ।
अस्पतालका प्रवक्ता डा. रामज्ञान यादवका अनुसार दैनिक करिब दुई हजार बिरामीले अस्पतालबाट सेवा लिने गरेका छन् । हाल अस्पतालमा ३९० शय्या सञ्चालनमा रहे पनि कानुनी रूपमा स्वीकृत क्षमता १०० शय्या मात्रै छ ।
अस्पतालका निर्देशक डा. जामुन सिंहका अनुसार ३९० शय्याको अस्पताल सञ्चालन गर्न कम्तीमा ९०० जनशक्ति आवश्यक पर्नेमा हाल करिब ४०० जना मात्रै कार्यरत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवले एक हजार जनशक्तिको दरबन्दी थप्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गर्न खोजिए पनि अर्थ मन्त्रालय र मन्त्रिपरिषद्बाट सहमति नपाएको बताएका छन् ।


