जनकपुरधाम । नेपालीहरूको महान् चाड बडादशैँ, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लावासीसँग आग्रह गरेको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि, दुर्घटना, ठगी तथा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नियन्त्रण गर्न प्रशासनले विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो।
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार चाडपर्वलाई लक्षित गरी जिल्ला सुरक्षा समितिबाट एकीकृत सुरक्षा योजना–२०८३ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले चाडपर्व मनाउने क्रममा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक शान्ति कायम राख्न आग्रह गरेका छन्। उनले गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा आफू र आफ्नो परिवारको सुरक्षामा विशेष ध्यान दिन जिल्लावासीलाई अनुरोध गरेका हुन्।
प्रशासनले चाडपर्वका बेला घर तथा पसल बन्द गरेर बाहिर जाँदा ढोका, झ्याल र ताल्चा राम्रोसँग बन्द गर्न तथा आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ। त्यसैगरी, अनलाइन ठगीबाट जोगिन अपरिचित व्यक्तिलाई रकम नपठाउन, ओटीपी तथा पासवर्ड गोप्य राख्न र ठगीमा परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा उजुरी दिन अनुरोध गरिएको छ।
चाडपर्वका नाममा जुवातास, सट्टेबाजी तथा अन्य गैरकानुनी गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ। पटका, आतसबाजी तथा विस्फोटक पदार्थको आयात, बिक्रीवितरण र प्रयोग नगर्नसमेत आग्रह गरिएको छ।
सवारी दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारीसाधन नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न प्रशासनले अनुरोध गरेको छ। मेला, बजार, मन्दिर तथा छठ घाटमा हुने भीडभाडका बेला बालबालिका, ज्येष्ठ नागरिक तथा बहुमूल्य सामानको विशेष ख्याल गर्न पनि आग्रह गरिएको छ।
छठ पर्वका क्रममा नदी, पोखरी तथा अन्य जलाशयमा विशेष सावधानी अपनाउन र बालबालिकालाई एक्लै नछाड्न प्रशासनले ध्यानाकर्षण गराएको छ। देउसीभैलो तथा धार्मिक-सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा सभ्य र मर्यादित व्यवहार अपनाउन, ध्वनि प्रदूषण हुने गरी डिजे नबजाउन तथा अरूलाई असर पर्ने गतिविधि नगर्नसमेत अनुरोध गरिएको छ।
त्यस्तै, सामाजिक सञ्जालमा भ्रामक सूचना, अफवाह तथा धार्मिक वा साम्प्रदायिक सद्भावमा खलल पुग्ने सामग्री प्रकाशन वा प्रसारण नगर्न प्रशासनले आग्रह गरेको छ।
कुनै शंकास्पद गतिविधि, झैझगडा, दुर्घटना वा आपराधिक घटना देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ। चाडपर्वका समयमा अवाञ्छित वा गैरकानुनी गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रमुख जिल्ला अधिकारी लुइँटेलले चाडपर्वलाई सुरक्षित, व्यवस्थित र उल्लासमय बनाउन प्रशासनको आग्रह पालना गर्दै जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न जिल्लावासीसँग अनुरोध गरेका छन्।


