राम युवा कमिटीको दशैँ तयारी अन्तिम चरणमा, झिझिया प्रतियोगितादेखि रावण वधसम्मका कार्यक्रम


जनकपुरधाम । जनकपुरधामस्थित राम युवा कमिटीले यस वर्षको दशैँ तथा दुर्गा पूजाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। कमिटीले बौधी माता र अमरखाना माइ मन्दिरमा आयोजना गर्दै आएको दुर्गा पूजालाई धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको हो।

घटस्थापनाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमार्फत कमिटीले पूजाआराधनासँगै दशैँको धार्मिक तथा सांस्कृतिक महत्त्व झल्काउने विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ। धार्मिक आस्था, परम्परा र मिथिलाको मौलिक संस्कृतिको संरक्षण गर्दै श्रद्धालुलाई उत्सवमा सहभागी गराउने उद्देश्यले कार्यक्रम तय गरिएको कमिटीले जनाएको छ।

कमिटीका अध्यक्ष विजयकुमार साहका अनुसार दशैँको द्वितीयादेखि षष्ठीसम्म प्रत्येक साँझ भजन कार्यक्रम आयोजना गरिनेछ। भजन कार्यक्रममार्फत मन्दिर परिसरमा भक्तिमय वातावरण सिर्जना गर्नुका साथै श्रद्धालुको सहभागिता बढाउने लक्ष्य राखिएको उनले बताए।

त्यसैगरी, सप्तमीका दिन मिथिलाको मौलिक लोकसंस्कृतिको अभिन्न अंगका रूपमा रहेको झिझिया नृत्य प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिने अध्यक्ष साहले जानकारी दिए।

अष्टमीका दिन महावीर युवा कमिटीसँगको सहकार्यमा बोकाबलि कार्यक्रम सञ्चालन गरिनेछ। त्यसैगरी, विजयादशमीका दिन रावण वध कार्यक्रम आयोजना गरी विजय उत्सव मनाइने कमिटीले जनाएको छ।

धार्मिक पूजाआराधना तथा सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक व्यवस्थापकीय तयारी भइरहेको अध्यक्ष साहले बताए। उत्सवमा सहभागी हुने श्रद्धालुको सुविधालाई ध्यानमा राख्दै कार्यक्रम सञ्चालन गरिने कमिटीको भनाइ छ।

राम युवा कमिटीले विगत ३६ वर्षदेखि जनकपुरधामस्थित बौधी माता तथा अमरखाना माइ मन्दिरमा दुर्गा पूजाको आयोजना गर्दै आएको छ। लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको यस पूजाले स्थानीय धार्मिक आस्था, सामुदायिक सहभागिता र मिथिलाको सांस्कृतिक परम्परालाई निरन्तरता दिन योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार