राजविराज । सिउँदोमा अझै सिन्दुर छ। आँखामा श्रीमान् फर्किएर आउने आशा। बिहानदेखि साँझसम्म बाटोतिर हेर्दै दिन बिताउनु राजविराज नगरपालिका–१६ बोरिया टोलकी २७ वर्षीया दरोपती कुमारी सदाको दैनिकी बनेको छ।
भदौ १० गते रसुवामा आएको बाढीमा श्रीमान् सुरेन्द्र सदा बेपत्ता भएको डेढ महिना पुग्न लाग्दासमेत दरोपतीले उहाँको मृत्यु भएको स्वीकार गरेकी छैनन्। उनको विश्वास छ—सुरेन्द्र जीवितै फर्केर आउनेछन्।
नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनामा चार महिनादेखि कामदारका रूपमा कार्यरत सुरेन्द्र बाढीपछि सम्पर्कविहीन भएका थिए। त्यसयता दरोपतीसँगै उनका ८ वर्षीया छोरी चाँदनी, ६ वर्षीया कुसुम र ४ वर्षीय छोरा रौनक पनि बाबुको बाटो कुरिरहेका छन्।
दुई साताअघि बजारबाट घर फर्किने क्रममा इ–रिक्सा दुर्घटनामा परेपछि दरोपतीको खुट्टामा चोट लागेको छ। ओछ्यानमा थलिएकी उनी अहिले बैसाखीको सहारामा जेनतेन हिँडडुल गर्छिन्। तर, शारीरिक पीडाभन्दा श्रीमान्को प्रतीक्षाको पीडा ठूलो रहेको उनी बताउँछिन्।
“मेरो सिउँदोको सिन्दुरले १२ वर्षसम्म श्रीमान्को प्रतीक्षा गर्नेछ। उहाँ फर्केर आउनुहुन्छ भन्ने विश्वास छ,” दरोपतीले भनिन्।
रसुवामा वास्तवमा के भयो भन्ने आफूले आफ्नै आँखाले नदेखेकाले अहिले नै श्रीमान्को मृत्यु भएको ठानेर अन्तिम संस्कार गर्न नसक्ने उनको भनाइ छ। “कसैले भन्दैमा श्रीमान्को अन्तिम संस्कार गर्दिनँ। अहिले त्यसबारे सोचेकी पनि छैन। १२ वर्षसम्म प्रतीक्षा गर्छु,” उनले भनिन्।
सुरेन्द्रको कमाइबाट परिवारको गुजारा चल्दै आएको थियो। उनी बेपत्ता भएपछि तीन छोराछोरीको पालनपोषण गर्नसमेत दरोपतीलाई कठिन भएको छ। बसोबास गरिरहेको जग्गाको भाडाबापत मासिक एक हजार रुपैयाँ बुझाउनुपर्ने बाध्यताका बीच दैनिक गुजारा कसरी चलाउने भन्ने चिन्ताले उनलाई सताएको छ।
बुवाको अवस्थाबारे चिन्तित भएपछि छोराछोरीले पढाइसमेत छाडेर घरमै बस्न थालेका छन्। उनीहरूको एउटै प्रश्न छ—“बुवा कहिले फर्किनुहुन्छ?”
एउटै टोलका तीन परिवारको पीडा
दरोपतीको परिवार मात्र होइन, बोरिया टोलका अन्य दुई परिवार पनि यस्तै पीडामा छन्। स्थानीय शिवकुमार सदा पनि सोही बाढीमा बेपत्ता भएका थिए। उनकी ३२ वर्षीया श्रीमती गुडिया देवी, १५ वर्षीय छोरा प्रकाश, १२ वर्षीया नितु, ९ वर्षीया रेणुका र ६ वर्षीय जितेन अहिले पनि बाबुको प्रतीक्षामा छन्।
“मेरो श्रीमान् फर्केर आउनुहुन्छ भन्ने मलाई विश्वास छ,” गुडियाले भनिन्। उनले पनि अहिले श्रीमान्को अन्तिम संस्कार गर्नेबारे नसोचेको बताइन्।
सोही बाढीमा बोरिया टोलकै बेचन सदा पनि बेपत्ता भएका छन्। उनकी श्रीमती फुलिया देवीको एक वर्षअघि क्यान्सरका कारण मृत्यु भइसकेको थियो। बेचनका चार सन्तानमध्ये दुई छोरीको विवाह भइसकेको छ। अहिले १३ वर्षीय छोरा सुभाष र ७ वर्षीया छोरी निभाका लागि बुवा नै एकमात्र सहारा थिए।
तर, बाढीपछि बेचनको समेत अत्तोपत्तो छैन। “बुवा फर्केर आउनुहुन्छ भन्ने विश्वास छ। अन्तिम संस्कार गर्नेबारे सोचेका छैनौँ,” सुभाषले भने।
स्थानीयवासीका अनुसार बोरिया टोलका यी तीनै जना नुवाकोटस्थित त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनामा कार्यरत थिए। तीनै परिवारले आफन्त फर्केर आउने आशामा अन्तिम संस्कार नगरी प्रतीक्षा गरिरहेका छन्।
सप्तरीका ४१ जना अझै बेपत्ता
रसुवामा बाढी आएको डेढ महिना पुग्न लाग्दासमेत सप्तरीका ४१ जना अझै बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रसुवा बाढीपछि सप्तरीका ५३ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ११ जना सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु भएको पुष्टि भएको छ। अझै ४१ जना सम्पर्कविहीन रहेको उनले जानकारी दिए।
बाढीमा आफन्त गुमाएका परिवारहरू भने अझै पनि उनीहरू सकुशल फर्किने आशामै छन्। सरकारले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहे पनि लामो समयसम्म आफन्तको अवस्थाबारे जानकारी नपाउँदा परिवारमा अन्योल र पीडा झनै बढ्दै गएको छ।


