रौतहट । फैसला कार्यान्वयन विशेष अभियानअन्तर्गत रौतहट प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ३७ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीबाट ७ वर्ष २ महिना २७ दिन कैद सजाय र २ लाख ७३ हजार ७७७ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार पक्राउ परेकाहरू विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन्। उनीहरूविरुद्ध जालसाजी, कुटपिट तथा अंगभंग, विद्युतीय कारोबार ऐन, नागरिकता कीर्ते, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, लेनदेन बिगो, बालशोषण, जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योग र चेक अनादरलगायतका मुद्दा रहेका छन्।
प्रहरीले सञ्चालन गरेको १० दिने विशेष अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेका ३७ जनालाई कसुरअनुसार आवश्यक कारबाही, कैद तथा जरिवाना असुलीका लागि रौतहट जिल्ला अदालत, गौरमा बुझाइएको डीएसपी गौतमले जानकारी दिए।


