बर्दिबास । नेपाली सेना र सञ्चारमाध्यमबीचको समन्वय, सहकार्य तथा आपसी समझदारी थप सुदृढ बनाउने उद्देश्यले मधेश प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सुरु भएको छ।
श्री मध्यपूर्वी पृतना हेडक्वार्टर बर्दिबासको आयोजनामा सुरु भएको कार्यक्रममा मधेश प्रदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ जना सञ्चारकर्मी सहभागी छन्। कार्यक्रमको शुभारम्भ मध्यपूर्वी पृतनाका पृतनापति भुवन केसीले गरेका हुन्।
अभिमुखीकरणमा सहभागी पत्रकारलाई नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, भूमिका तथा विभिन्न गतिविधिबारे जानकारी गराइनेछ। सेनासम्बन्धी समाचार संकलन तथा सम्प्रेषणका क्रममा आवश्यक तथ्य, सूचना र विषयवस्तुलाई सहज, तथ्यपरक तथा जिम्मेवार ढंगले प्रस्तुत गर्न कार्यक्रम केन्द्रित रहने जनाइएको छ।
कार्यक्रम संयोजक प्रमुख सेनानी प्रतिभा थापाका अनुसार नेपाली सेना र पत्रकारबीचको समन्वय तथा आपसी समझदारीलाई थप प्रभावकारी बनाउन अभिमुखीकरण आयोजना गरिएको हो।
चारदिने कार्यक्रममा सेनाको कार्यक्षेत्र र जिम्मेवारीसँगै विपद् व्यवस्थापन तथा प्रतिक्रिया, समसामयिक विषय र संकटका समयमा सञ्चारमाध्यमको भूमिका लगायत विषयमा प्रस्तुतीकरण तथा अन्तरक्रिया गरिनेछ।
कार्यक्रमले सुरक्षा निकायका गतिविधि र जिम्मेवारीबारे सञ्चारकर्मीलाई प्रत्यक्ष जानकारी गराउनुका साथै विपद् तथा संकटका समयमा तथ्यमा आधारित र जिम्मेवार समाचार सम्प्रेषणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपाली सेना र सञ्चारमाध्यमबीच नियमित संवाद तथा सहकार्यले सुरक्षा तथा विपद्सम्बन्धी विषयमा सार्वजनिक सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन सक्ने आयोजकको अपेक्षा छ।


