पान मधेश प्रदेशको शिखर सम्मेलनबाट १४ निर्णय


जनकपुरधाम । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) मधेश प्रदेशको प्रादेशिक शिखर सम्मेलनले विद्यालयको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन पहल गर्नेदेखि प्रधानाध्यापकको पेशागत क्षमता अभिवृद्धि र डिजिटल स्रोत पोर्टल निर्माणसम्मका १४ निर्णय गरेको छ।

सम्मेलनको बन्द सत्रले विद्यालय नेतृत्व, संगठन सुदृढीकरण तथा शैक्षिक नवप्रवर्तनसम्बन्धी विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।

सम्मेलनले जग्गाधनी प्रमाणपुर्जा नभएका विद्यालयलाई प्रमाणपुर्जा उपलब्ध गराउन सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरेको छ। त्यस्तै, प्रधानाध्यापकका लागि डिजिटल स्रोत पोर्टल निर्माण गर्ने तथा प्रदेशस्तरीय विज्ञान प्रदर्शनी र डिजिटल मेला आयोजना गर्ने निर्णयसमेत गरिएको छ।

प्रधानाध्यापकको नेतृत्व तथा पेशागत क्षमता विकासका लागि नियमित कार्यशाला सञ्चालन गर्ने, विद्यालय पूर्वाधार विकासका लागि सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्ने र पानको संगठनलाई स्थानीय तहसम्म विस्तार गर्ने निर्णय पनि सम्मेलनले गरेको छ।

त्यसैगरी, सदस्यता प्रमाणीकरण गर्ने, विधान संशोधनका लागि सुझाव संकलन गर्ने तथा प्रदेश कार्यसमिति पुनर्गठन गर्ने निर्णय गरिएको पान मधेश प्रदेशले जनाएको छ।

सम्मेलनले विदेशका प्रधानाध्यापक संघ–संस्थासँग सहकार्य गरी अनुभव आदानप्रदान गर्ने निर्णयसमेत गरेको छ। साथै, पानको तेस्रो राष्ट्रिय सभा जनकपुरधाममा आयोजना गर्न पहल गर्ने निर्णय गरिएको छ।

यसैबीच, पान मधेश प्रदेशका तत्कालीन अध्यक्ष सञ्जयकुमार झालाई केन्द्रीय पदाधिकारीका लागि सिफारिस गर्ने निर्णयसमेत सम्मेलनले गरेको छ।

पान मधेश प्रदेशका अनुसार सम्मेलनबाट पारित निर्णयले विद्यालय नेतृत्वलाई थप प्रभावकारी बनाउनुका साथै प्रधानाध्यापकको पेशागत क्षमता विकास, प्रविधिमैत्री शिक्षा र संगठन विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार