कमला पुल निर्माण अन्तिम चरणमा, मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी


जनकपुरधाम । धनुषा र सिरहा जोड्ने पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माणाधीन पुल सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका अनुसार आगामी मंसिरदेखि पुलमा आवागमन खुलाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भइसकेको छ भने सुपर ढलानको काम भइरहेको छ।

फाउण्डेसनसहित तीनवटा पिलरको सबलीकरण तथा ढलानको कामसमेत अन्तिम चरणमा पुगेको महतोले जानकारी दिए। पुलको दुवैतर्फ पहुँच सडकमा माटो भर्ने काम सम्पन्न भइसकेकाले मंसिरदेखि आवागमन सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ।

विसं २०७८ असारमा सञ्चालनको तयारी भइरहेका बेला आएको बाढीले पुलका पिलरमा क्षति पुर्‍याएपछि लामो समयदेखि पुल अलपत्र अवस्थामा थियो। पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासीलाई कमला नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपर्ने बाध्यता रहँदै आएको थियो।

पुल निर्माणका क्रममा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण गरिएपछि कामले गति लिएको कार्यालय प्रमुख महतोले बताए। कमला पुल निर्माणको ठेक्का २०६८ सालमा पप्पु लुम्बिनी जेभीले पाएको थियो। अहिले पनि सोही निर्माण कम्पनीले पुल पुनःनिर्माणको काम गरिरहेको छ।

यसैबीच हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको कुल ४०६ दशमलव ४३ किलोमिटर सडकखण्डमध्ये ३४७ दशमलव ६३ किलोमिटर सडक कालोपत्र भइसकेको छ। यस खण्डमा पर्ने २४ वटा पुलसमेत निर्माण सम्पन्न भइसकेका छन्।

कार्यालयका सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहामा रहेको ५७ दशमलव ५२ किलोमिटर सडकखण्डमध्ये २९ दशमलव ९८ किलोमिटर निर्माण सम्पन्न भएको छ।

त्यस्तै, धनुषाको ८९ दशमलव ५२ किलोमिटरमध्ये ७४ दशमलव ५८ किलोमिटर, महोत्तरीको ९३ दशमलव ५ किलोमिटरमध्ये ९१ दशमलव ५६ किलोमिटर र सर्लाहीको १६६ दशमलव २ किलोमिटरमध्ये १५१ दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ भित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि सडक क्षेत्रभित्रका घरटहरा हटाउन ढिलाइ तथा विभिन्न स्थानमा देखिएको जग्गा विवादका कारण केही काम प्रभावित भएको कार्यालय प्रमुख महतोले बताए।

कमला पुलसहित हुलाकी राजमार्गको बाँकी निर्माण कार्य सम्पन्न भएपछि मधेशका ग्रामीण क्षेत्रको आवागमन सहज हुनुका साथै कृषि उपजको बजारीकरण, व्यापार तथा समग्र आर्थिक गतिविधिमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार