जनकपुरधाम । विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यालय नेतृत्व सुदृढीकरण तथा तीनै तहका सरकारबीच शैक्षिक सहकार्य बढाउने उद्देश्यले प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जनकपुरधाममा आयोजना हुने भएको छ ।
प्रधानाध्यापक संघ नेपालले मंसिर ५ र ६ गते जनकपुरधाममा राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्न लागेको हो ।
सम्मेलनमा सातै प्रदेशबाट एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि र शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ ।
संघका केन्द्रीय अध्यक्ष सुदाम गौतमले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय नेतृत्व, स्थानीय सरकार, शिक्षक, अभिभावक र नीति निर्माताबीच सहकार्य आवश्यक रहेको बताए ।
सम्मेलनमार्फत विद्यालय शिक्षाको सुधारका लागि साझा प्रतिबद्धता निर्माण गर्दै आगामी कार्यदिशा तय गरिने उनको भनाइ छ ।
प्रधानाध्यापक संघ नेपाल मधेश प्रदेशका अध्यक्ष संजय झाले संघ राजनीतिक संगठन नभएकाले अधिकारका विषयभन्दा विद्यालय शिक्षा र सामुदायिक हितका विषयमा सम्मेलनमा केन्द्रित भएर छलफल गरिने बताए ।
सम्मेलनका क्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, समतामूलक पहुँच, शिक्षकको पेशागत मर्यादा तथा शैक्षिक अधिकार कार्यान्वयनलगायत विषय समेटिएको ‘जनकपुर घोषणापत्र’ जारी गरिने भएको छ । साथै संघको बहुवर्षीय रणनीतिक योजनासमेत सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
सम्मेलनमा सातै प्रदेशबाट उत्कृष्ट विद्यालय र उत्कृष्ट प्रधानाध्यापकलाई पुरस्कृत गरिनेछ ।
शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको स्थानीय तहलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, शिक्षा पत्रकारितामा योगदान पुर्याएका दुई जना सञ्चारकर्मी तथा शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।


