मधेशमा अनलाइन उद्योग दर्ता प्रक्रिया सुरु


जनकपुरधाम । मधेश प्रदेशमा उद्योग दर्ता प्रक्रियालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले अनलाइन उद्योग दर्ता प्रणालीको औपचारिक शुभारम्भ गरिएको छ ।

मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत उद्योग विभाग पर्साको आयोजनामा भएको कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले अनलाइन उद्योग दर्ता प्रक्रियाको शुभारम्भ गरेका हुन् ।

प्रणालीको शुभारम्भ गर्दै मन्त्री पटेलले अनलाइन उद्योग दर्ता प्रक्रियाले प्रदेशमा ई–गभर्नेन्स र पारदर्शी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।

उनले नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै मधेशका उद्यमी तथा नवउद्यमीले उद्योग दर्ताका लागि कार्यालय धाउनुपर्ने बाध्यता कम हुनुका साथै समय, श्रम र खर्चसमेत बचत हुने बताए ।

अनलाइन प्रणाली सञ्चालनमा आएपछि उद्योग दर्ता प्रक्रिया छरितो, सहज र प्रविधिमैत्री हुने विश्वास गरिएको छ । साथै, सेवा लिन कार्यालयमा पटकपटक उपस्थित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै दर्ता प्रक्रियामा पारदर्शिता र सेवा प्रवाहमा प्रभावकारिता बढ्ने जनाइएको छ ।

कार्यक्रममा उद्योग विभागका महानिर्देशक रिया साह, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका उपसचिव रोहित पर्सैला, घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख सन्तोष साह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार