जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–३ लालभित्तीस्थित औरही खोला किनारमा सञ्चालित क्रसर उद्योगमा टिपर पल्टिँदा ग्राभेलले पुरिएर क्रसर सञ्चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार औरही बाबा बालुवा प्रशोधन उद्योगमा बुधबार साँझ ग्राभेल लोड गरिएको टिपर उद्योग परिसरमै पल्टिँदा त्यसमा रहेको ग्राभेलले पुरिएर ३८ वर्षीय हरि महतो गम्भीर घाइते भएका थिए ।
प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरमा क्रसरभित्र ग्राभेल भर्ने क्रममा टिपर पल्टिएको प्रहरीले जनाएको छ । टिपर पल्टिएपछि त्यसमा रहेको बालुवा तथा गिट्टीले पुरिएका महतोलाई तत्काल उद्धार गरी उपचारका लागि जनकपुरधामस्थित जानकी मेडिकल कलेजमा लगिएको थियो ।
उपचारकै क्रममा महतोको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६ का ३० वर्षीय हरि विकसमेत घाइते भएका छन् । टिपर पल्टिँदा उनको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


