महोत्तरी । प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको ४५ दिन बितिसक्दा पनि समस्या समाधान नभएको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीव कुमार साहले नगरपालिका कार्यालयसहित सबै वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको तत्काल व्यवस्था गर्न सम्बन्धित निकायलाई दबाब दिने उद्देश्यले नगर प्रमुख साहले सोमबार नगरपालिका कार्यालय तथा सबै वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि उनले कार्यालयका चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गरेका छन् ।
नगर प्रमुख साहका अनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको प्रशासनिक, वित्तीय तथा विकाससम्बन्धी काम प्रभावित भएको छ । कर्मचारी तथा पदाधिकारीको तलबभत्ता र सेवा सुविधाको भुक्तानीदेखि विकास निर्माणका काम तथा नागरिकलाई उपलब्ध गराउनुपर्ने नियमित सेवासमेत प्रभावित हुने अवस्था आएको उनले बताए ।
उनका अनुसार मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा कर्मचारी खटाए पनि लामो समयसम्म कार्यालयमा हाजिर नहुँदा नगरपालिका प्रशासनिक नेतृत्वविहीनजस्तै बनेको छ ।
‘नगरपालिकामा ४५ दिनदेखि प्रमुख प्रशासकीय अधिकृत छैनन् । मन्त्रालयले कर्मचारी खटाइसकेको छ । तर, उहाँ हाजिर हुनुभएको छैन । पटकपटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधान नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको हो,’ नगर प्रमुख साहले भने ।
चाडपर्व नजिकिँदै गएको अवस्थामा कर्मचारी तथा पदाधिकारीको तलबभत्ता समयमै भुक्तानी गर्नसमेत समस्या हुन सक्ने भन्दै उनले तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न माग गरेका छन् ।
नगर प्रमुख साहले तालाबन्दीको उद्देश्य जनताको सेवा रोक्नु नभई सेवा प्रवाहलाई नियमित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु रहेको बताए ।
‘जनतालाई सहज र प्रभावकारी सेवा दिनका लागि प्रमुख प्रशासकीय अधिकृत आवश्यक छ । हामीले कसैलाई दुःख दिन वा कार्यालय बन्द गराउन खोजेका होइनौँ । तत्काल अधिकृत पठाएर कार्यालयको काम नियमित गराउन दबाब दिएका हौँ,’ उनले भने ।
भंगहा नगरपालिकाका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय तह कर्मचारी प्रशासन शाखाले २०८३ भदौ १ गतेको पत्रमार्फत कर्मचारी संकेत नम्बर १७९५४७ भएका खिमराज भुसाललाई भंगहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो ।
तर, मन्त्रालयको पत्र आएको लामो समय बितिसक्दा पनि भुसाल नगरपालिकामा हाजिर भएका छैनन् । उनलाई हाजिर गराउन सम्बन्धित मन्त्रालयमा पटकपटक जानकारी गराउँदै आवश्यक पहल तथा ताकेता गरिएको नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण प्रशासनिक, वित्तीय तथा विकाससम्बन्धी काम प्रभावित भएको भन्दै नगरपालिकाले यसअघि पनि समस्या समाधानका लागि सम्बन्धित निकायसँग आग्रह गर्दै आएको थियो । नगरपालिकाले तीन दिनभित्र प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए अति आवश्यक सेवाबाहेक सम्पूर्ण कामकाज बन्द गर्ने चेतावनीसमेत दिएको थियो ।
नगर प्रमुख साहले अब पनि सम्बन्धित निकायबाट समस्या समाधान नभए नगरपालिकाको सेवा प्रवाहलाई नियमित बनाउन थप कदम चाल्न बाध्य हुने बताएका छन् । उनले मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल हाजिर गराई नगरपालिकाको प्रशासनिक तथा वित्तीय कामकाज नियमित बनाउन माग गरेका छन् ।


