जनकपुरधाम । महोत्तरीको पिपरा–पर्सास्थित कुट्मेश्वरी पुल नजिक पानीको बहाव अत्यधिक बढेपछि जलेश्वर–जनकपुर सडकखण्डमा जोखिम बढेको छ ।
पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै हुलाकी सडक आयोजनाको टोलीले पुल तथा सडकखण्डको स्थलगत निगरानी गरिरहेको छ ।
टोलीले आवश्यकताअनुसार तत्काल काम गर्ने र सडकको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कुट्मेश्वरी पुल आसपासको पानीको बहाव बढेकाले सडक प्रयोगकर्तालाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
उनले सडक अवरुद्ध हुने वा आवागमनमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राखी सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार पानीको बहाव र सडकको अवस्था निरन्तर निगरानीमा राखिएको छ ।
अवस्था प्रतिकूल भएमा आवश्यक सुरक्षा तथा व्यवस्थापनका उपाय तत्काल अपनाइने उनले बताए ।
प्रशासनले जलेश्वर–जनकपुर सडकखण्ड हुँदै आवतजावत गर्ने यात्रु तथा सवारी चालकलाई पुल र नदी आसपासको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमपूर्ण अवस्थामा जबर्जस्ती सडक पार नगर्न आग्रह गरेको छ ।


