सर्लाही । अविरल वर्षाका कारण सर्लाहीको जनजीवन प्रभावित भएको छ ।
शनिबार मध्यरातिदेखि परेको भारी वर्षाले सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न स्थान जलमग्न भएका छन् ।
भारी वर्षाका कारण मलङ्गवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि सदरमुकामसहित जिल्लाको दक्षिणी भेगका १० भन्दा बढी पालिकामा आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
लगातारको वर्षापछि जिल्लाका बागमती, लखन्देहीलगायतका खोलामा पानीको बहाव बढेको छ ।
पूर्वी क्षेत्रमा समेत बस्तीमा पानी पस्न थालेको छ भने विभिन्न स्थानका कच्ची घरमा क्षति पुगेको छ ।
चन्द्रनगर गाउँपालिका–१ किसनपुरमा वर्षाका कारण रोहित पासवानको घर भत्किएको छ । घर भत्किएपछि गाउँपालिकाले तत्काल त्रिपालसहित राहत सामग्री उपलब्ध गराएको छ ।
वर्षाका कारण पाक्न लागेको धान तथा तरकारीलगायतका बालीमा समेत क्षति पुगेको किसानहरूले बताएका छन् । लगातारको वर्षाले थप क्षति हुन सक्ने भन्दै किसान चिन्तित बनेका छन् ।
बाढी र डुबानको जोखिम बढेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको जनाएको छ ।
बागमती नदीसहित विभिन्न खोलामा पानीको बहाव थप बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।


