सप्तरी । सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका कोशी तटीय बस्ती प्रभावित भएका छन् ।
बाढी बस्तीमा पस्दा करिब पाँच सय घरपरिवार प्रभावित भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार वडा नम्बर ५, ७, १२ र १३ का बस्तीमा बाढीको पानी पसेको छ ।
कोशी नदीको बीच भागमा रहेको वडा नम्बर(१३ को गोबरगाढा बस्ती पूर्ण रूपमा डुबानमा परेको छ ।
घर, आँगन तथा बस्तीमा पानी पसेपछि प्रभावित परिवारलाई सुरक्षित र अग्लो स्थानमा सारेर पाल टाँगी राखिएको छ ।
बाढी प्रभावितका लागि नगरपालिकाले शनिबारदेखि निःशुल्क भोजनको व्यवस्था समेत गरेको छ । शनिबार मात्रै करिब एक हजार जनाले उक्त मेसबाट खाना खाएका थिए ।
बाढीका कारण वडा नम्बर(७ र १२ मा दुई–दुई गरी चार परिवारका घरसमेत भत्किएका छन् । घर भत्किएपछि ती परिवारलाई सुरक्षित स्थानमा सारिएको नगरपालिकाले जनाएको छ ।
यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा पनि सप्तकोशी नदीको बाढी पसेको छ । त्यहाँ करिब १५ घरपरिवार प्रभावित भएका छन् । उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सप्तकोशी नदीको बहाव भने क्रमशः घट्दै गएको छ ।
समाचार तयार पार्दासम्म कोशी नदीमा २ लाख १७ हजार ४५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको छ । कोशी ब्यारेजका २६ वटा ढोका खुला राखिएको छ ।


