जापानविरुद्धको खेलमा वर्षा बाधक, नेपाल ३ अंकसहित समूह विजेता


जनकपुरधाम । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ। खेल रद्द भएपछि नेपाल समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

वर्षाका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिला सुरु भएको खेललाई १५ ओभरमा छोट्याइएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको थियो।

नेपालका लागि जोराले ३२ बलमा ५७ रन तथा लोकेशले २२ बलमा ५२ रन बनाउँदै अविजित रहे। आसिफ शेखले २१ रनको योगदान दिए।

जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले नेपालका एक–एक विकेट लिए।

नेपालको इनिङ सकिएलगत्तै पुनः वर्षा सुरु भएपछि पिचलाई कभरले ढाकिएको थियो। वर्षा नरोकिएपछि जापानको इनिङ सुरु हुन सकेन र खेल नतिजाविहीन भयो।

यस नतिजासँगै नेपालले समूह ‘ए’ मा दुई खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेको छ। अफगानिस्तानले दुई खेलबाट २ अंक जोड्दै उपविजेता बनेको छ।

अब क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने अफगानिस्तानले भारतको सामना गर्नेछ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार