जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकामा मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि प्रशासनिक तथा वित्तीय कामकाज प्रभावित भएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण नियमित सेवा प्रवाहदेखि कर्मचारी तथा पदाधिकारीको तलब–भत्ता भुक्तानीसम्मका काम प्रभावित हुने अवस्था सिर्जना भएको नगरपालिकाको भनाइ छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले २०८३ भदौ १ गतेको पत्रमार्फत कर्मचारी संकेत नम्बर १७९५४७ भएका खिमराज भुसाललाई भंगहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो । तर, मन्त्रालयबाट खटाइएको लामो समय बितिसक्दा पनि भुसाल कार्यालयमा हाजिर नभएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन सम्बन्धित मन्त्रालयलाई पटकपटक जानकारी गराउँदै आवश्यक पहल तथा ताकेता गरिएको छ । तर, हालसम्म पनि भुसालले कार्यालयमा उपस्थित भएर जिम्मेवारी सम्हालेका छैनन् ।
प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले प्रशासनिक तथा वित्तीय निर्णय प्रक्रिया प्रभावित भएको नगरपालिकाको भनाइ छ । विशेषगरी कर्मचारी तथा पदाधिकारीको नियमित तलब, भत्ता तथा अन्य सेवा सुविधाको भुक्तानीमा समस्या उत्पन्न हुने अवस्था रहेको नगरपालिकाले जनाएको छ ।
बडा दशैं नजिकिँदै गएको अवस्थामा तलब तथा भत्ता समयमै भुक्तानी हुन नसके कर्मचारी तथा पदाधिकारीलाई आर्थिक समस्या पर्न सक्ने भन्दै नगरपालिकाले तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्न माग गरेको छ ।
नगरपालिकाले दैनिक प्रशासनिक काम, विकास निर्माण, सेवा प्रवाह तथा वित्तीय व्यवस्थापनलाई नियमित बनाउन प्रमुख प्रशासकीय अधिकृतको हाजिरी अनिवार्य रहेको जनाएको छ ।
नगर प्रमुख संजिवकुमार साहले मन्त्रालयबाट खटाइएका भुसाललाई यथाशीघ्र कार्यालयमा हाजिर गराई जिम्मेवारी सम्हाल्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयसँग आग्रह गरेका छन् ।
नगरपालिकाले तीन दिनभित्र प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए अति आवश्यक सेवाबाहेक सम्पूर्ण कामकाज बन्द गर्ने चेतावनीसमेत दिएको छ । यसले प्रमुख प्रशासकीय अधिकृतको पदस्थापन र स्थानीय तहमा कर्मचारी व्यवस्थापनको विषयलाई लिएर संघीय मन्त्रालय र स्थानीय तहबीचको समन्वयमाथि समेत प्रश्न उठाएको छ ।


