लगातार वर्षापछि कमला नदीमा जोखिम बढ्यो, धनुषामा सुरक्षा निकाय ‘अलर्ट’


जनकपुरधाम । लगातार भइरहेको वर्षाका कारण कमला नदी तथा आसपासका तटीय क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले असोज ११ गतेसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

जिल्ला विपद् कमाण्ड पोस्टका अधिकारी, स्थानीय तहका नगर प्रमुख तथा प्राविधिक कर्मचारीसहितको टोलीले कमला नदी र आसपासका तटीय क्षेत्रको स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा नदीको वर्तमान अवस्था, सम्भावित जोखिम तथा जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने पूर्वतयारीबारे छलफल गरिएको सिँचाइ मन्त्रालयका वरिष्ठ इन्जिनियर सुरेशकुमार मण्डलले जानकारी दिए ।

उनका अनुसार सम्भावित विपद्को अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनासहित जिल्लाका चारवटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति र स्रोतसाधनसमेत तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले असोज ८ देखि ११ गतेसम्म वर्षाका कारण नदी तथा तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र विपद्को संकेत देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन् ।

प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षलाई आपसी समन्वयमा तयारी अवस्थामा रहन निर्देशन दिएको छ । साथै, नदीको जलस्तर तथा वर्षाको अवस्थालाई निरन्तर निगरानीमा राखिएको जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार