जनकपुरधाम । बुधबार साँझदेखि लगातार भइरहेको वर्षाका कारण धनुषा र सिरहाको सिमानाबाट बग्ने कमला नदीमा पानीको बहाव बढेको छ। लगातार वर्षा भइरहेकाले नदीमा पानीको सतह अझै बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
कमला नदी आसपासका बस्तीमा बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले इलाका प्रहरी कार्यालय खजुरीले विभिन्न स्थानमा माइकिङ गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिरहेको छ।
प्रहरीले नदी, खोला तथा जलमग्न हुन सक्ने क्षेत्रको आसपासमा अनावश्यक रूपमा नजान र बालबालिका तथा वृद्धवृद्धाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। नदीको बहाव बढिरहेको अवस्थामा जोखिमयुक्त स्थानमा आवतजावत नगर्नसमेत प्रहरीले सचेत गराएको छ।
मौसममा अझै केही दिन वर्षा हुने सम्भावना रहेकाले कमला नदी आसपासका बासिन्दालाई सम्भावित बाढी तथा डुबानप्रति उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रहरीले कुनै आपत्कालीन अवस्था सिर्जना भए तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्नसमेत अनुरोध गरेको छ।


