धनुषामा दुई दशकमा वनक्षेत्र ११ प्रतिशतले बढ्यो, निजी जमिनको योगदान बढी


जनकपुरधाम । धनुषामा पछिल्लो दुई दशकको अवधिमा वनक्षेत्र ११ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ। डिभिजन वन कार्यालय धनुषाको तथ्यांकअनुसार सन् २००० मा २७ हजार ५ सय ७८ हेक्टर रहेको वनक्षेत्र सन् २०२५ सम्म आइपुग्दा ३० हजार ६ सय ५८ हेक्टर पुगेको हो।

यस अवधिमा धनुषामा ३ हजार ८० हेक्टर वनक्षेत्र थपिएको देखिन्छ। वन कार्यालय, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले सञ्चालन गरेका वृक्षरोपण र हरियाली प्रवर्धनका कार्यक्रमसँगै निजी जमिनमा समेत ठूलो संख्यामा रुखबिरुवा रोपिन थालेपछि समग्र वनक्षेत्र विस्तार भएको डिभिजन वन कार्यालय धनुषाको भनाइ छ।

डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहका अनुसार राष्ट्रिय वनको क्षेत्रफलमा ठूलो परिवर्तन नभए पनि निजी जमिनमा गरिएको वृक्षरोपणका कारण जिल्लाको समग्र वनक्षेत्र बढेको हो। पछिल्ला वर्षमा नागरिकमा वन संरक्षण तथा हरियाली प्रवर्धनप्रतिको चेतना बढ्नुका साथै निजी वनलाई आम्दानीको स्रोतका रूपमा विकास गर्ने प्रवृत्ति बढेको उनले बताए।

वन कार्यालय, समृद्धि वन परियोजना तथा विभिन्न विकास साझेदार संस्था र स्थानीय समुदायले सञ्चालन गरेका वृक्षरोपण तथा वन संरक्षणका कार्यक्रमले समेत यसमा योगदान पुर्‍याएको कार्यालयको भनाइ छ।

वन कार्यालयका अनुसार एकै स्थानमा कम्तीमा आधा हेक्टर जमिनमा रुखबिरुवा रहेको क्षेत्रलाई वनक्षेत्रका रूपमा गणना गर्ने प्रावधान छ। यही मापदण्डका आधारमा निजी स्वामित्वको जमिनमा लगाइएका व्यवस्थित रुखबिरुवालाई समेत वनक्षेत्रको तथ्यांकमा समावेश गरिएको हो।

पछिल्लो दुई दशकमा धनुषाका किसानले परम्परागत कृषि उत्पादनसँगै वृक्षारोपणलाई समेत आयआर्जनको माध्यम बनाउन थालेका छन्। निजी जमिनमा आँपलगायतका फलफूलका बोटसँगै सिसम, सपेता, टिक, मलेसियन सखुवालगायत काठजन्य प्रजातिका रुखको संख्या बढेको वन कार्यालयले जनाएको छ।

यसले धनुषामा वनक्षेत्र विस्तारको स्वरूपसमेत परिवर्तन गरेको देखिन्छ। सार्वजनिक तथा राष्ट्रिय वनको क्षेत्रफल विस्तारभन्दा निजी जमिनमा आधारित वृक्षरोपणको योगदान बढ्दै गएको छ। किसानले आर्थिक प्रतिफलको सम्भावना देखेर काठ तथा फलफूलजन्य बिरुवा लगाउन थालेपछि निजी वनको अवधारणा जिल्लामा विस्तार हुँदै गएको कार्यालयको भनाइ छ।

वनक्षेत्र विस्तारले वातावरणीय दृष्टिले समेत सकारात्मक प्रभाव पार्ने वन कार्यालयको दाबी छ। रुखबिरुवाको क्षेत्र बढ्दा वातावरणीय सन्तुलन कायम राख्न, जैविक विविधताको संरक्षण गर्न, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तथा भूक्षय नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ।

त्यस्तै, स्थानीयस्तरमा तापक्रम नियन्त्रण, भूजल पुनर्भरण तथा वन्यजन्तुको वासस्थान संरक्षणमा समेत वृक्षरोपण र वनक्षेत्र विस्तारले योगदान पुर्‍याउने कार्यालयको भनाइ छ।

यद्यपि वनक्षेत्र बढेको तथ्यांकसँगै त्यसको गुणस्तर, प्रजातिगत विविधता, संरक्षणको अवस्था र वास्तविक वन आवरणको प्रभावबारे पनि नियमित मूल्यांकन आवश्यक देखिन्छ। निजी जमिनमा रुखको संख्या बढ्नुले वनक्षेत्रको तथ्यांक बढाए पनि त्यसले प्राकृतिक वनको क्षतिलाई पूर्ण रूपमा प्रतिस्थापन गर्छ कि गर्दैन भन्ने विषय छुट्टै अध्ययनको विषय बन्न सक्छ।

धनुषामा दुई दशकमा ३ हजारभन्दा बढी हेक्टर वनक्षेत्र थपिनुले वृक्षरोपण र निजी वनप्रतिको आकर्षण बढेको संकेत गरे पनि यसलाई दीर्घकालीन रूपमा वातावरणीय तथा आर्थिक लाभमा रूपान्तरण गर्न वृक्षरोपणसँगै संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा समेत ध्यान दिनुपर्ने देखिन्छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार