चिकित्सकमाथि हातपात गर्ने दुई जना पक्राउ, अन्यको खोजी तीव्र


जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक सरोज साहमाथि हातपात तथा कुटपिटमा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चिकित्सक माथि हातपात गरेको आरोपमा धनुषा, औरही गाउँपालिका, वडा नम्बर २ बस्ने वर्ष २० का विजय मुखिया र जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ बस्ने वर्ष २६ की सुधिरा मुखिया बिनलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका दुवै जनालाई धनुषा जिल्ला अदालतबाट ३ दिनको म्याद लिई थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले आरोपित दुवै जनालाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३ ९ग० बमोजिमको कसुर अन्तर्गत अनुसन्धान भइरहेको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी खोजतलास जारी रहेको बताए । उनका अनुसार यो ऐन अन्तर्गत कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा तीन लाख सम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको जानकारी दिए ।

गएको बिहीबार प्रादेशिक अस्पताल जनकपुरको बर्थिङ्ग सेन्टरमा प्रसूतिका लागि आएकी महिलाका आफन्तहरूले शल्यक्रियामा लापरबाही गरेको आरोप लगाउँदै ड्युटीमा रहेका चिकित्सक सरोज साहलाई हातपात गर्दै कुटपिट गरेका थिए । कुटपिट भएपछि चिकित्सकहरू आन्दोलित भएका थिए । चिकित्सकहरूले उपचारको क्रममा लापरबाही भएको भए अनुसन्धान गर्ने निकायमा उजुरी दिनुको साटो अस्पतालमा खटिएका स्वास्थ्यकर्मी माथि हातपात तथा कुटपिट हुनुलाई गम्भीर रूपमा लिएको भन्दै आरोपितलाई कारबाहीको माग गरेका थिए । यो अस्पतालमा बारम्बार यस्ता घटना घट्दै आएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार