पोखरीमा डुबेर बेपत्ता १५ वर्षीय बालक २० घण्टापछि मृत फेला


सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१२, जियाजोरमा पोखरीमा डुबेर बेपत्ता भएका १५ वर्षीय बालक २० घण्टापछि मृत फेला परेका छन् ।

लालबन्दी नगरपालिका–११, हीरापुरका देवेन्द्र ठाकुरका छोरा राजु ठाकुर आइतबार अपराह्न करिब सवा ४ बजेदेखि पोखरीमा डुबेर बेपत्ता भएका थिए । लखन्देही खोलापारि निजी जग्गामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता भएका राजुको शव सोमबार दिउँसो करिब साढे १२ बजे फेला परेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले डुङ्गा तथा बाँसको सहायतामा खोजी गर्दै बालकको शव पानीबाट निकालेको हो । खोजीका लागि सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट प्रहरी नायब निरीक्षक भक्तबहादुर खत्रीको नेतृत्वमा सोमबार बिहान सात जना गोताखोरको टोलीसमेत परिचालन गरिएको थियो ।

यसअघि आइतबार साँझ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले करिब तीन घण्टासम्म खोजी गरे पनि बालक फेला परेका थिएनन् । सोमबार बिहानैदेखि पुनः गोताखोर टोली परिचालन गरी खोजी गर्दा राजुको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरी निरीक्षक मगरले बताए ।

स्थानीयका अनुसार गर्मी छल्न राजुसँगै पोखरीमा पौडी खेल्न गएका अन्य तीन–चार जना बालक भने सकुशल बाहिर निस्किएका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार