शल्यक्रियापछि महिलाको मृत्यु, चिकित्सकीय लापरबाहीको आरोपमा धर्मेश्वर अस्पतालमा प्रदर्शन


सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–१२, सिमरास्थित धर्मेश्वर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माएकी २८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएपछि आफन्त तथा स्थानीयवासीले चिकित्सकीय लापरबाहीको आरोप लगाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण सोमबार बिहानदेखि अस्पताल परिसरमा तनावको अवस्था सिर्जना भएको छ ।

अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५, बकधुवाका अमित चौधरीकी श्रीमती निर्मला चौधरीको उपचारका क्रममा आइतबार राति विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

प्रहरीका अनुसार निर्मलाले असोज २ गते धर्मेश्वर अस्पतालमा शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी थिइन् । शल्यक्रियापछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो ।

विराट टिचिङ अस्पतालमा उपचारकै क्रममा आइतबार राति निर्मलाको मृत्यु भएको प्रनाउ घिमिरेले बताए । नवजात शिशुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

निर्मलाको मृत्यु भएपछि आफन्तले शव धर्मेश्वर अस्पताल परिसरमा ल्याएर चिकित्सकीय लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषी देखिएका चिकित्सकमाथि कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

सोमबार बिहानदेखि अस्पताल परिसरमा आफन्त तथा स्थानीयवासीले प्रदर्शन र नाराबाजी गरेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको प्रनाउ घिमिरेले जानकारी दिए ।

उनका अनुसार घटनाबारे आफन्तसँग छलफल भइरहेको छ । निर्मलाको मृत्युको वास्तविक कारण के हो र उपचारका क्रममा चिकित्सकीय लापरबाही भएको हो वा होइन भन्ने विषय सम्बन्धित निकायबाट हुने छानबिनपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार