रोपिएका बिरुवा जोगाउन जनकपुरका युवाको हरित श्रमदान


जनकपुरधाम । जलवायु परिवर्तनका कारण मौसमी चक्र प्रभावित भइरहेका बेला जनकपुरधामका युवाहरू सडक किनारमा रोपिएका बिरुवाको संरक्षणमा जुटेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२२ बसविट्टीका युवाहरूले डिभिजन वन कार्यालय धनुषाले रोपेका बिरुवाको गोडमेल तथा सरसफाइ गर्दै संरक्षण अभियान थालेका हुन् ।

गत असारमा बसविट्टी र विन्धिको सडकखण्डमा रोपिएका बिरुवाहरू झारपातले ढाकिँदै गएपछि युवाहरूले नियमित रूपमा गोडमेल र सरसफाइ गर्न थालेका हुन् । झारपातले बिरुवालाई ढाक्दा आवश्यक प्रकाश, मलिलोपन र पानी प्राप्त गर्न बाधा पुग्ने तथा त्यसले बिरुवाको वृद्धिमा असर पार्ने देखिएपछि संरक्षणका लागि सामूहिक श्रमदान सुरु गरिएको युवाहरूले बताएका छन् ।

बिरुवा रोपेर मात्रै हरियाली कायम नहुने र त्यसको संरक्षण तथा व्यवस्थापन पनि उत्तिकै आवश्यक हुने भावना विकास भएपछि आफूहरू अभियानमा जोडिएको वातावरण संरक्षण अभियानी कञ्चन मिश्रले बताइन् ।

बसविट्टी र विन्धिबीचको करिब चार किलोमिटर सडकखण्डको दुवैतर्फ गोल्डमोहर, निम, कदमलगायत विभिन्न प्रजातिका चार सयभन्दा बढी बिरुवा रोपिएका छन् । ती बिरुवाको संरक्षणका लागि स्थानीय पर्यावरणप्रेमी, नागरिक समाज, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसमेत सहभागी हुँदै आएका छन् ।

‘हरित श्रमदान’ अभियानअन्तर्गत प्रत्येक आइतबार सडक किनारमा रहेका बिरुवाको गोडमेल, झारपात सफाइ तथा संरक्षणको काम गरिँदै आएको छ ।

युवाहरूले सानो प्रयासबाट संरक्षण गरिएका बिरुवा हुर्किएपछि सडकको सौन्दर्य बढ्नुका साथै यात्रु तथा स्थानीयलाई छायाँ प्रदान गर्ने र वातावरण संरक्षणमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूले वृक्षारोपणसँगै बिरुवाको नियमित संरक्षणलाई पनि स्थानीयस्तरमा अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार