जेनजी आन्दोलन स्मृति दिवसमा मानव अधिकार संरक्षणसम्बन्धी अन्तरक्रिया


जनकपुरधाम । जेनजी आन्दोलन स्मृति दिवसको अवसरमा एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधाम समूह–५७ ले मानव अधिकार संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालय, जनकपुरधाममा आयोजित कार्यक्रममा नेपालमा प्रदर्शनकारीमाथि भएको दमनसम्बन्धी अनुसन्धानात्मक पुस्तक आयोगलाई हस्तान्तरण गरिएको छ।

एम्नेस्टी इन्टरनेसनल नेपालले तयार पारेको ‘हामी त्यहाँ हाम्रो आवाज उठाउन सकेका थियौँ, मारिएका होइनौँ—प्रदर्शनकारीहरूको नेपालमा भएको घातक दमन’ शीर्षकको अनुसन्धानात्मक सामग्री तथा जानकारीमूलक पुस्तक आयोगका प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो। पुस्तकमा प्रदर्शनका क्रममा भएका घटना, मानव अधिकारको अवस्था तथा प्रदर्शनकारीमाथि भएको दमनलगायतका विषय समेटिएका छन्।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव जीवन न्यौपानेले आयोगको भूमिका, कार्यक्षेत्र तथा मानव अधिकार संरक्षणका विषयमा जानकारी दिँदै सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए। एम्नेस्टी इन्टरनेसनलका विषयमा एम्नेस्टी इन्टरनेसनल नेपालका सल्लाहकार कमल साहले धारणा राखेका थिए।

विशेष अतिथि प्राध्यापक डा. सुशील कुमार यादवले मानव अधिकार संरक्षण, जेनजी आन्दोलनको स्मरण तथा यसको महत्त्वबारे चर्चा गरे। सो अवसरमा उनले नयाँ सदस्य डा. बिनय कुमार झा र उदय नारायण यादवलाई एम्नेस्टी इन्टरनेसनलको सदस्यता कार्ड हस्तान्तरण गरेका थिए।

एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधामका अध्यक्ष मनीष झा (श्रीओम) को अध्यक्षता तथा राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालय, जनकपुरधामका कार्यालय प्रमुख बुद्धनारायण साहनीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल जनकपुरधामका सचिव अम्बिका प्रसाद कर्ण, जनकपुरधाम उपमहानगरपालिकाका कार्यकारिणी समिति सदस्य फुलकुमारी साह, जिरोमाइल कमिटीका अध्यक्ष शिवशंकर मिश्र, सञ्जीव महासेठ, सहप्राध्यापक डा. बिनय झा, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत किरण प्रसाद घिमिरे, एम्नेस्टी इन्टरनेसनलका सदस्य लेक्चरर उदयचन्द्र यादव, कैलास प्रसाद महतोलगायतले मन्तव्य राखेका थिए।

वक्ताहरूले एम्नेस्टी इन्टरनेसनलको उद्देश्य, मानव अधिकार संरक्षणमा संस्थाले निर्वाह गर्दै आएको भूमिका तथा जेनजी आन्दोलनका प्रमुख कारणबारे चर्चा गरेका थिए। उनीहरूले आन्दोलनका क्रममा भएका घटनाको स्मरण गर्दै नेपालको वर्तमान मानव अधिकार अवस्थाबारे समेत धारणा राखेका थिए।

कार्यक्रमको प्रारम्भमा जेनजी आन्दोलनका सहिदहरूको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गरिएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष मनीष झा (श्रीओम) ले जेनजी आन्दोलनको पृष्ठभूमि, यसको आवश्यकता तथा आन्दोलनलाई स्मरण गर्नुको महत्त्वबारे धारणा राखेका थिए।

अन्त्यमा एम्नेस्टी इन्टरनेसनल जनकपुरधामको तर्फबाट सहभागी सदस्यहरूलाई मानव अधिकारसम्बन्धी हाते पुस्तिका वितरण गरिएको थियो।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार