जनकपुरधाम । नेकपा एमालेको साधारण सदस्यसमेतबाट राजीनामा दिएका पूर्व प्रदेश कमिटी सदस्य तथा युवा नेता देवकृष्ण मण्डल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
सोमबार आयोजित एक कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य रामविनोद यादवको विशेष उपस्थितिमा मण्डललाई गम्छा लगाएर रास्वपामा स्वागत गरिएको हो।
रास्वपा हंसपुरका युवा नेता मनोजकुमार यादव, रामभजन यादव, ललित यादवलगायतका नेताहरूको विशेष पहलमा मण्डललाई पार्टीमा प्रवेश गराइएको जनाइएको छ।
मण्डल यसअघि तत्कालीन शरतसिंह भण्डारी नेतृत्वको पार्टीका जिल्ला अध्यक्षसमेत रहेका थिए। त्यसपछि उनी राजपा, जसपा हुँदै मधेशवादी दलहरूसँग असन्तुष्ट बनेर नेकपा एमालेमा प्रवेश गरेका थिए।
एमालेको प्रदेश कमिटी सदस्यसमेत रहेका मण्डलले पछिल्लो समय पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए। एमाले परित्याग गरेपछि उनी रास्वपामा प्रवेश गरेका हुन्।
मण्डलको प्रवेशसँगै हंसपुर क्षेत्रमा रास्वपाको संगठन विस्तारमा थप सहयोग पुग्ने पार्टीका स्थानीय नेताहरूले बताएका छन्।


