बेपत्ता आफन्त खोज्न पहल गरेका मण्डल पक्राउ, राष्ट्रिय एकता दलद्वारा तत्काल रिहाइको माग


बारा । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफन्तको खोजी तथा उद्धारका लागि निरन्तर पहल गरिरहेका बारा, परवानीपुर गाउँपालिका–१ निवासी तथा राष्ट्रिय एकता दलका जिल्ला सदस्य अवधेश मण्डललाई प्रहरीले पक्राउ गरेको घटनाप्रति राष्ट्रिय एकता दलले गम्भीर आपत्ति जनाएको छ।

राष्ट्रिय एकता दलका मधेश प्रदेश सचिव दिलीप गुप्ताले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत मण्डललाई तत्काल रिहा गर्न माग गरेका छन्।

दलका अनुसार भोटेकोशी बाढीमा मण्डलका सालो बेपत्ता भएपछि उनले खोजी तथा उद्धारका लागि सम्बन्धित क्षेत्रका सांसद रहबर अन्सारीसँग पटक–पटक सहयोगको आग्रह गरेका थिए। तर अपेक्षित सहयोग नपाएपछि पीडित अवस्थामा मण्डलले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि तथा आक्रोश व्यक्त गरेका थिए।

विपद्को समयमा आफन्तको जीवनरक्षाका लागि जनप्रतिनिधिसँग जवाफदेहिता माग गर्ने पीडित नागरिकलाई नै पक्राउ गर्नु गैरजिम्मेवार र निन्दनीय कार्य भएको दलले जनाएको छ।

राष्ट्रिय एकता दलले सरकार तथा प्रशासनसमक्ष पक्राउ परेका मण्डललाई विनाशर्त तत्काल ससम्मान रिहा गर्न, भोटेकोशी बाढीमा बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन र राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन माग गरेको छ।

त्यस्तै, नागरिकको असन्तुष्टि दबाउन प्रहरी शक्तिको दुरुपयोग गरिएको भए त्यसबारे छानबिन गरी दोषी देखिएका सांसद तथा सम्बन्धित निकायमाथि आवश्यक कारबाही गर्न पनि दलले माग गरेको छ।

दलले प्रधानमन्त्री बालेन्द्र शाहले विपद् पीडितले सरकारप्रति आलोचना वा असन्तुष्टि व्यक्त गरेकै आधारमा कारबाही नगर्न दिएको निर्देशन तथा नीतिसमेत उक्त गिरफ्तारीबाट उल्लंघन भएको दाबी गरेको छ।

राष्ट्रिय एकता दलले नागरिकको वाक् स्वतन्त्रता तथा विपद् पीडितको न्यायका पक्षमा पार्टी दृढतापूर्वक उभिएको जनाएको छ। मण्डललाई अविलम्ब रिहा नगरिए सशक्त संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दलले दिएको छ।

May be an image of text

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार