जन्मदिनको उत्सवभन्दा बाढीपीडितको पुनर्स्थापनालाई प्राथमिकता, ११ लाख १ रुपैयाँ सहयोग


जनकपुरधाम । देश विनाशकारी बाढीको त्रासदीमा रहेका बेला महोत्तरीका एक व्यवसायीले आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख १ रुपैयाँ सहयोग गरेका छन्।

महोत्तरी गाउँ स्थायी घर भएका व्यवसायी शम्भुनाथ झाले जन्मदिनको उत्सवमा खर्च गर्नुभन्दा विपद्मा परेका नागरिकको सहयोगलाई प्राथमिकता दिँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

बाढीका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएका छन्। नागरिकहरू दुःख र कष्टमा रहेका बेला व्यक्तिगत खुसीभन्दा प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग गर्नु उचित ठानेर रकम प्रदान गरेको झाले बताएका छन्।

बैंकबाट प्राप्त कारोबार विवरणअनुसार २०२६ अगस्ट ३० (आइतबार) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११ लाख १ रुपैयाँ जम्मा गरिएको हो। बैंक विवरणमा उक्त कारोबार सफल भएको उल्लेख छ।

व्यक्तिगत खुसीको अवसरलाई विपद्मा परेका नागरिकको सहयोगसँग जोड्नु मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण भएको धनुषाको परवाहा घर भएका सेवानिवृत्त शिक्षक विनोदानन्द मिश्रले बताए।

उनका अनुसार राष्ट्रिय विपद्को कठिन समयमा गरिएको यस्तो सहयोगले अन्य व्यक्ति तथा व्यवसायीलाई पनि विपद्मा परेका नागरिकको राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न प्रेरित गर्न सक्छ।

जन्मदिनको अवसरलाई भड्किलो उत्सवमा सीमित नराखी विपद्मा परेका नागरिकको सहयोगमा जोड्ने झाको निर्णयले सामाजिक सेवाको सकारात्मक सन्देश दिएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार