भोटेकोशीको बाढीमा परेर मधेसका ३० जना सम्पर्कविहीन


जनकपुरधाम । रसुवाको भोटेकोशीमा आएको विध्वंशकारी बाढीपछि मधेस प्रदेशका ३० जना सम्पर्कविहीन भएका छन् । उनीहरूको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार रसुवाका विभिन्न स्थानमा पुगेका आफ्ना परिवारजनसँग सम्पर्क नभएको भन्दै प्रहरीमा निवेदन दर्ता गराएको आधारमा ३० जना सम्पर्कविहीन रहेको पुष्टि भएको हो ।

प्रहरीले सार्वजनिक सूचना जारी गर्दै मधेसबाट कसैको आफन्त हराएको, सम्पर्कविहीन अवस्था रहेमा आफ्ना विभिन्न युनिटमा विवरणसहित निवेदन दिन आग्रह गरेको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी एवं प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार पर्साबाट १७, बाराबाट ३, रौतहटबाट २, सर्लाहीबाट ६ र सप्तरीबाट २ जना रसुवामा आएको बाढीपछि सम्पर्कविहीन रहेको भन्दै खोजतलासका लागि निवेदन परेको हो ।
प्रहरीका अनुसार पर्सा जिल्लाबाट नगनारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश डंगोल, संजय तामाङ, आकाश तामाङ, कमरुल होदा अन्सारी, सुभाष पटेल, समिमी देवान, अनुतम बहादुर श्रेष्ठ, अभिषेक बस्तौला, घनश्याम बस्तौला, दिनेश परियार र पृथ्वी चौधरी छन् । ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तान यसअघि बेपत्ता रहे पनि हाल उद्धार गरी सम्पर्कमा रहेको प्रहरीको सूचनामा उल्लेख छ ।
त्यसैगरी बाराका नमनारायण सिंह, सत्यप्रकास राम र अन्कित पटेल सम्पर्कविहीन छन् । रौतहटबाट अपर त्रिशुली हाईड्रोपावरमा कार्यरत गौरव राउत र शेख मजिद बेपत्ता रहेको जनाइएको छ ।

सर्लाहीबाट बेपत्ता हुनेहरूमा माधव काफ्ले, अनुज काफ्ले, कृष्ण प्रसाद धमला, द्वारिका दंगाल, चिरञ्जीवी खतिवडा, त्रिशुली हाइड्रोपावरमा कार्यरत इन्जिनियर सुनिल कुशवाहा छन् ।

त्यस्तै सप्तरीबाट रसुवामा कार्यरत शिक्षक अजयकुमार यादव र हाईड्रोपावरमा कार्यरत साजन चौधरी सम्पर्कविहीन रहेको आफन्तबाट प्रहरीमा निवेदन परेको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूको खोजतलासका लागि रसुवा, धादिङ, लगायत प्रभावित जिल्लाका प्रहरी कार्यालयहरुसँगको समन्वयमा काम थालिएको जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार