बाढी घटनाप्रति मधेश प्रदेश सरकारद्वारा गम्भीर चिन्ता व्यक्त


​जनकपुरधाम । रसुवा जिल्लाको सीमावर्ती क्षेत्रस्थित भोटेकोशी नदीमा आएको अप्रत्याशित र भीषण बाढीका कारण पुगेको जनधनको क्षतिप्रति मधेश प्रदेश सरकारले गम्भीर चिन्ता व्यक्त गरेको छ।

बुधवार  बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले तटीय क्षेत्रमा बाढीको प्रभाव क्रमशः बढ्दै गएकाले नदी आसपासका बासिन्दाहरूलाई पूर्ण सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपिल गरेको छ।

​मन्त्रिपरिषद् बैठकले वर्तमान पुस्ताले नदेखेको र नभोगेको स्तरमा बाढी तथा डुबानका घटनाहरू घटेको उल्लेख गर्दै घटनाप्रति स्तब्धता प्रकट गरेको छ।

यस विषम परिस्थितिमा सम्पूर्ण नेपाली नागरिक तथा राज्यका सुरक्षा एवं उद्धार संयन्त्रहरूलाई प्रभावित र घाइतेहरूको शीघ्र उद्धार, राहत तथा पुनस्थापनामा आ(आफ्नो तर्फबाट योगदान पुर्‍याउन आह्वान गरिएको छ।

​घटनाको विस्तृत विवरण आउने क्रम जारी रहे पनि विपद्मा परी ज्यान गुमाउने राष्ट्रसेवक तथा नागरिकहरूप्रति प्रदेश सरकारले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
​उद्धार, राहत र पुनस्थापनाका लागि संघ ९नेपाल सरकार० ले तय गर्ने हरेक नीति तथा कदममा मधेश प्रदेश सरकारको पूर्ण साथ, सहयोग र समर्थन रहने मन्त्रिपरिषद्ले स्पष्ट पारेको छ।

​यसैगरी, पछिल्लो समय जलवायु परिवर्तनका कारण नदी प्रणालीहरूमा आकस्मिक बाढीको जोखिम बढ्दै गएकोप्रति प्रदेश सरकारले ध्यान आकर्षण गराएको छ।

नदी किनारका बस्ती, राजमार्ग तथा पुललगायतका पूर्वाधार संरचनाको संरक्षणका साथै डुबानजन्य समस्या समाधानका लागि विशेष राष्ट्रिय नीति निर्धारण गर्नुपर्ने आवश्यकता मधेश प्रदेश सरकारले औंल्याएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार