तिब्बतमा हिमताल फुटेपछि रसुवामा भीषण बाढी, टिमुरे र रसुवागढीमा ठूलो क्षति


काठमाडौं । तिब्बततर्फ हिमताल फुटेपछि आएको भीषण बाढीले रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको सरकारले जनाएको छ।

सरकारका अनुसार बाढीका कारण करिब २०० मेगावाट क्षमताका जलविद्युत आयोजनाहरूमा पूर्णरूपमा क्षति पुगेको छ। बाढीले सडक, पूर्वाधार तथा स्थानीय बस्तीमा समेत ठूलो क्षति पुर्‍याएको बताइएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि ११ वटा हेलिकप्टर परिचालन गरिएको सरकारले जनाएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएर उद्धार तथा खोजी कार्य गरिरहेका छन्।

बाढीबाट घाइते भएकाहरूलाई त्रिशूली जिल्ला अस्पतालमा ल्याएर उपचार गर्ने व्यवस्था मिलाइएको छ भने अन्य प्रभावित तथा उद्धार गरिएका व्यक्तिहरूका लागि धुन्चेमा बसोबासको व्यवस्था गरिएको सरकारले जनाएको छ।

सरकारका अनुसार माथिल्लो क्षेत्रमा बाढीको बहाव अहिले क्रमशः घट्दो अवस्थामा रहेको छ। बाढीको पानी मुग्लिनतर्फ पुग्न लागेको भन्दै नदी आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

विपद्को अवस्था गम्भीर रहेकाले उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक बजेटको व्यवस्था सरकारले गरेको जनाएको छ। सरकारले सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्यसमेत भइरहेको सरकारले जनाएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार