सर्लाहीमा ७ लाख ५० हजार घुस प्रकरण : दुई कर्मचारीविरुद्ध आरोपपत्र दायर


सर्लाही । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार कार्यालयका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैठौं तुलाकान्त चौधरीलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिइएको थियो।

आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा ढकाल र चौधरीको आपसी मिलेमतो तथा योजनामा १३ वटा डिप बोरिङ तथा मोटर जडानका लागि १३ वटा छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरिएको देखिएको अख्तियारले जनाएको छ।

कागजमा देखाउनका लागि मात्र उपभोक्ता समिति गठन गरी समितिले पूरा गर्नुपर्ने प्रक्रिया र आवश्यक कागजातसमेत उनीहरूले आफैं तयार गर्ने गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ। उपभोक्ता समितिको छाप तथा अध्यक्षको हस्ताक्षरसमेत गराई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस रकम मागेर लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर कायम गरी ७ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको छ।

आयोगले बिगो बराबर जरिवाना तथा कानुनबमोजिम कैद सजायको मागदाबी गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार