धनुषामा दुई दशकमा वनक्षेत्र ११.१७ प्रतिशतले बढ्यो


जनकपुरधाम । धनुषामा पछिल्लो दुई दशकको अवधिमा वनक्षेत्र ११ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ। डिभिजन वन कार्यालय धनुषाका अनुसार सन् २००० मा २७ हजार ५ सय ७८ हेक्टर रहेको वनक्षेत्र सन् २०२५ सम्ममा बढेर ३० हजार ६ सय ५८ हेक्टर पुगेको हो।

यस अवधिमा जिल्लामा तीन हजार ८० हेक्टर वनक्षेत्र थपिएको कार्यालयको तथ्याङ्क छ। वन कार्यालय, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले सञ्चालन गरेको वृक्षरोपण र हरियाली प्रवर्धनका कार्यक्रमसँगै नागरिकमा वन संरक्षणप्रतिको बढ्दो चेतनाका कारण वनक्षेत्र विस्तार भएको कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहका अनुसार राष्ट्रिय वनक्षेत्रको दायरा भने यथावत् रहे पनि निजी जमिनमा उल्लेखनीय रूपमा वृक्षरोपण भएका कारण समग्र वनक्षेत्र बढेको हो। निजी क्षेत्रको योगदान वनक्षेत्र विस्तारमा महत्वपूर्ण रहेको उनको भनाइ छ।

वन कार्यालय, समृद्धि वन परियोजना तथा विभिन्न विकास साझेदार संस्थाले वन संरक्षण र हरियाली प्रवर्धनका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यससँगै किसानले व्यावसायिक खेतीसँगै वृक्षरोपणलाई आम्दानीको स्रोतका रूपमा लिन थालेपछि निजी वनको अवधारणा विस्तार भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कम्तीमा आधा हेक्टर जमिनमा एकै ठाउँमा रुखबिरुवा भएको क्षेत्रलाई वनक्षेत्रका रूपमा गणना गर्ने प्रावधान छ। सोही मापदण्डका आधारमा निजी जग्गामा लगाइएका वृक्षसमेत वनक्षेत्रमा समावेश गरिएको हो।

पछिल्लो दुई दशकमा निजी जमिनमा आँपलगायत विभिन्न फलफूलका बोटबिरुवाका साथै सिसम, सपेता, टिक र मलेसियन सखुवाजस्ता काठजन्य प्रजातिका रुखको संख्या उल्लेख्य रूपमा बढेको छ।

डिभिजन वन कार्यालयले वनक्षेत्र विस्तारले वातावरणीय सन्तुलन कायम गर्न, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण र भूक्षय नियन्त्रणमा सहयोग पुगेको जनाएको छ। साथै, वन विस्तारले स्थानीय तापक्रम नियन्त्रण, भूजल पुनर्भरण तथा वन्यजन्तुको वासस्थान संरक्षणमा समेत सकारात्मक प्रभाव पारेको कार्यालयको दाबी छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार