रसुवामा बाढीको वितण्डा : टिमुरे गाउँ नै बगायो, ठूलो जनधनको क्षति


रसुवा । तिब्बततर्फबाट आएको बाढीका कारण रसुवाको भोटेकोशी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे गाउँ नै बगाएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

गोसाइँकुण्ड गाउँपालिकाका कार्यपालिका सदस्य पेमा दोर्जे घलेका अनुसार टिमुरेमा रहेका अधिकांश घर बाढीले बगाएको छ। उनका अनुसार टिमुरेमा करिब एक सयभन्दा बढी घर रहेका थिए।

“टिमुरे गाउँ नै बगायो। कति मानिस बेपत्ता भए भन्ने यकिन छैन। सग्लो घर एउटै छैन,” घलेले बताएका छन्।

बाढीबाट जोगिएका करिब डेढ सय मानिस उकालो लागेर सुरक्षित भएका छन्। उनीहरूलाई समेत तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको घलेले बताए।

बाढीपछि टिमुरेमा रहेका प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत केही व्यक्ति मात्रै देखिएको उनले बताए। उद्धार तथा खोजीका लागि नेपाली सेनाको हेलिकप्टर टिमुरे पुगेको छ।

स्थानीयले बाढीमा कति मानिस बेपत्ता भए र कति घर तथा संरचनामा क्षति पुग्यो भन्ने यकिन विवरण अझै आउन नसकेको बताएका छन्। बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने स्थानीयको माग छ।

घटनापछि टिमुरे तथा भोटेकोशी आसपासका क्षेत्रमा त्रास फैलिएको छ। प्रभावितलाई तत्काल सुरक्षित स्थानमा सार्न र बेपत्ताको खोजी तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने देखिएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार