नेपाल–भारत सीमा जिल्ला समन्वय समिति बैठक सम्पन्न


महोत्तरी । जलेश्वर नगरपालिकाको सभा हलमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी समन्वयात्मक बैठक सम्पन्न भएको छ।

बैठकमा नेपालतर्फ महोत्तरी, सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, भन्सार, नापी तथा डिभिजन वन कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो। भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाका जिल्ला मजिस्ट्रेट तनय सुल्तानिया, प्रहरी उपरीक्षक अमित रञ्जनलगायत भारतीय अधिकारीहरूको समेत सहभागिता थियो।

बैठकमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, सीमा सुरक्षा, दुई देशका सुरक्षा निकायबीच समन्वय तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगर, सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेल र रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाललगायत अधिकारीहरूको उपस्थिति थियो।

त्यस्तै तीन जिल्लाका सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक, सहायक प्रमुख जिल्ला अधिकारी, भन्सार, नापी तथा डिभिजन वन कार्यालयका प्रमुखलगायत नेपाली अधिकारीहरूको सहभागिता रहेको थियो।

भारततर्फबाट सीतामढी जिल्लाका जिल्ला मजिस्ट्रेट तनय सुल्तानिया, प्रहरी उपरीक्षक अमित रञ्जनसहित करिब २१ जना अधिकारी सहभागी भएका थिए। बैठकमा नेपाल र भारतका गरी करिब ५० जनाको सहभागिता रहेको जनाइएको छ।

बैठकअघि सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुल्तानियाले जलेश्वरनाथ महादेव मन्दिरमा विधिवत् पूजाअर्चना गरेका थिए।

नेपाल–भारत सीमा जिल्ला समन्वय समिति बैठक शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार