जनकपुरधाम । जनकपुरधामका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका पोखरीहरू अतिक्रमणमुक्त गराउने अभियान सुरु गरिएको छ। गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिको पहल तथा जनकपुरधाम उपमहानगरपालिका र स्थानीय प्रशासनको सहयोगमा शनिबारदेखि अभियान थालिएको हो।
समितिका सदस्यसचिव जनक पोखरेलका अनुसार पहिलो चरणमा रेखाङ्कन सम्पन्न भएका जनकपुरधामका सात वटा पोखरीको अतिक्रमित डिलमा डोजर चलाएर अतिक्रमण हटाइएको छ। गोरधई, मुर्लिसर, बिसहरा, अङ्गराजसर, रत्नसागर, दीर्घिकासर र दशरथ तलाउको अतिक्रमण हटाइएको उनले जानकारी दिए।
अतिक्रमण हटाउने क्रममा कच्ची तथा आंशिक पक्की गरी ६५ वटा घरटहरा हटाइएको समितिले जनाएको छ। समितिले पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त बनाउने योजना बनाएको छ।
पोखरी अतिक्रमण हटाउन गत साउन १ गते सार्वजनिक सूचना जारी गरिएको थियो। सूचनामा तोकिएको समयभित्र अतिक्रमण नहटाइएपछि डोजर प्रयोग गरेर अतिक्रमण हटाउनुपरेको समितिका सदस्यसचिव पोखरेलले बताए।
शनिबार जनकपुरधाम उपमहानगरपालिका–६ स्थित गोरधई पोखरीबाट अभियान सुरु गरिएको थियो। अतिक्रमण हटाउने क्रममा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो। डोजर चलाउने क्रममा प्रहरी र स्थानीयबीच केहीबेर तनाव उत्पन्न भए पनि पछि अवस्था सामान्य भएको थियो।
समितिका अनुसार अतिक्रमण हटाउने अभियान चरणबद्ध रूपमा अघि बढाइनेछ। पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र त्यसपछि अन्य गुठी जग्गामा भएको अतिक्रमण हटाउने योजना रहेको पोखरेलले बताए।
गुठी जग्गा पहिचान तथा अतिक्रमण हटाउने क्रममा २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार बनाएर जनकपुरधाममा अतिक्रमण हटाउने अभियान अघि बढाइएको समितिले जनाएको छ।


