महोत्तरी । यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासले सेवाग्राहीलाई घरदैलोमै पुगेर सवारी चालक अनुमतिपत्र वितरण गर्ने अभियानलाई निरन्तरता दिएको छ।
सेवाग्राहीलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालयले महोत्तरीका स्थानीय तहसँग समन्वय गरी चालक अनुमतिपत्र वितरण गर्दै आएको हो। यसैक्रममा शनिबार मटिहानी नगरपालिकाका सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र वितरण गरिएको छ।
यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासका कार्यालय प्रमुख राकेश यादवले सवारी चालक अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भएका १०४ जनाको लाइसेन्स मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई हस्तान्तरण गरे।
कार्यालय प्रमुख राकेश यादवका अनुसार यसअघि बर्दिबास नगरपालिकाका करिब ३ हजार, गौशाला नगरपालिकाका १ हजार ६ सय, औरही नगरपालिकाका १ हजार ३ सयसहित १४ वटा स्थानीय तहका १० हजारभन्दा बढी सेवाग्राहीलाई स्थानीय सरकारमार्फत सवारी चालक अनुमतिपत्र वितरण गरिसकिएको छ।
महोत्तरीमा १५ वटा स्थानीय तह रहेकामा अब पिपरा गाउँपालिकाका करिब १५० जनाको सवारी चालक अनुमतिपत्र मात्र वितरण गर्न बाँकी रहेको यादवले जानकारी दिए।
दूरदराजका सेवाग्राहीलाई सामान्य कामका लागि समेत बर्दिबासस्थित कार्यालय धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले स्थानीय तहबाटै सेवा प्रदान गर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
यातायात कार्यालयको यो अभियानले समय र खर्च बचत हुनुका साथै सेवाग्राहीलाई स्थानीय तहमै सरकारी सेवा प्राप्त गर्ने अवसर मिलेको छ। बाँकी स्थानीय तहमा समेत समन्वय गरी चालक अनुमतिपत्र वितरणलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।


