इटालीविरुद्ध पहिलो जितको खोजीमा नेपाल


काठमाण्डौ । आईसीसी टी–२० पुरुष विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को दोस्रो खेलमा नेपालले बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुने खेलमा नेपाल पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रँदै छ।

नेपालले विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डसँग रोमाञ्चक प्रतिस्पर्धा गरेको थियो। १८५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमा सीमित भयो र चार रनले पराजित भयो। उत्कृष्ट प्रदर्शनका बाबजुद जित हात पार्न नसकेको नेपाल अब इटालीविरुद्ध नतिजा आफ्नो पक्षमा पार्ने योजनामा छ।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको यस विश्वकपका समूह चरणका चारै खेल नेपालले भारतमै खेल्दैछ। अहिलेसम्म विश्वकपमा जित दर्ता गर्न नसकेको नेपाल इटालीलाई पराजित गर्दै ऐतिहासिक पहिलो जित निकाल्ने लक्ष्यमा छ।

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपबाट पहिलोपटक सहभागिता जनाएको थियो। त्यसपछि १० वर्षको अन्तरालपछि दोस्रोपटक विश्वकप खेलेको नेपालले २०२४ संस्करणमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो उपस्थिति बलियो बनाएको थियो। दक्षिण अफ्रिकासँग एक रनले पराजित हुनु नेपालका लागि स्मरणीय क्षण बनेको थियो।

रोहितकुमार पौडेलको कप्तानीमा नेपाल लगातार विश्वकप खेलिरहेको छ। सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखेडे रंगशालामै हुँदैछन्।

समूह ‘सी’मा नेपालसँगै दुईपटकको विश्व विजेता वेस्ट इन्डिज, एकपटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्। हाल वेस्ट इन्डिज चार अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्ड र इंग्ल्यान्ड समान दुई अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्। अंकविहीन नेपाल र इटाली क्रमशः चौथो र पाँचौं स्थानमा छन्।

इटाली २०२६ विश्वकपमार्फत पहिलोपटक विश्वकप खेल्दैछ। पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको इटाली पनि पहिलो जितको खोजीमा छ। दुवै टोलीका लागि यो खेल ‘गर या मर’ जस्तै बनेको छ।

नेपालले तेस्रो खेलमा फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार