जनकपुरधाम । मधेस आन्दोलनको क्रममा ८ वर्षअघि महोत्तरीमा भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत महोत्तरीको न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले पुर्वराज्यमन्त्री अभिराम शर्मा सहित ७ जनालाई जन्मकैदको सजाय सुनाएको हो । अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई समेत जन्मकैदको सजाय सुनाएको अदालतकी श्रेष्तेदार नुतन झाले जानकारी दिइन् । मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गत्ते महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो । जन्मकैदको सजाय सुनाइएका अभिराम शर्मा हाल मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलका नेता छन् । त्यस्तै जन्मकैदकै सजाय पाएका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । यही मुद्दामा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् ।


