काठमाडौँ, असोज ५ । भदौँ १२ गते राष्ट्रपति कार्यालयमा वितरण भएको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म घोषणा नभएको विषयमा विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ । यसै विषयलाई लिएर ‘प्रकाश’ फिल्म राष्ट्रिय चलचित्र अवार्डको उत्कृष्टमा नपर्दा अदालतमा रिट निवेदन परेको छ ।
फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाइ उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका हुन् ।
रिटमा उत्कृष्ट फिल्मको विधामा अवार्ड वितरण नगर्नुको कारण र जुरी कमिटीको निर्णयको सक्कल प्रति सार्वजनिक गर्नु पर्ने माग गरिएको छ ।
फिल्म अवार्डमा उत्कृष्ट फिल्मको विधा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । तर, राष्ट्रिय अवार्डमा पहिलोपटक यही विधा गायब भयो । राष्ट्रिय अवार्डको जुरी टिमले ‘प्रकाश’को नाम उत्कृष्ट फिल्ममा सिफारिस गरेको तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डले सरकारमा रहेको पार्टी (माओवादी केन्द्र) लाई नकारात्मक रुपमा चित्रित गरेको फिल्मलाई अवार्ड दिन नमिल्ने भन्दै उत्कृष्ट फिल्मको विधा नै हराएको थियो ।
यस विषयमा बोर्डले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । प्रमुख विधामा नै अवार्ड वितरण नहुने भएपछि जुरी संयोजक राजेन्द्र सलभ कार्यक्रममा सहभागी भएनन् ।


