टेबलटेनिसमा सुस्मिताले जितिन् स्वर्ण


काठमाडौं, १४ असार । प्राइम ग्लोबल स्कुलकी सुस्मिता खड्काले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ बिहीबार स्वणर् पदक जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा सुस्मिताले नेपाल पुलिस क्लबकी यशस्वी अवाललाई ११.९, ११.३, ११.९, ११.८ अंकको सोझो सेटमा पराजित गरिन् ।

उक्त स्पर्धामा स्ट्याग च्याम्पिन्स टीटी एकेडेमीकी सुरम्य शाक्य र प्राइम ग्लोबलकी प्राज्ना महर्जन तेश्रो भए । अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित उक्त प्रतियोगिताको पुरुष सिंगल्समा आदर्श विद्या मन्दिर (एभीएम) का सुजन गडालले एपीएफ क्लबका राजीव चिकवन्जरलाई ११.६, ११.८, ११.९, ९.११, ११.७ अंक र बुटवल टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेतले गोड स्पिन टेबलटेनिस एकेडेमीका समिप श्रेष्ठलाई ११.९, ११.९, ११.७, ११.७ अंकको सेटमा हराउदै फाइनलमा पुगे ।

प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र समाजसेवी सुमन खड्गीले उद्घाटन गरेका थिए । क्यान्सर पीडित टेबलटेनिस खेलाडी सेलिशा खड्गीको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न आयोजित उक्त प्रतियोगितामा १७५ खेलाडीले विभिन्न सात स्पर्धामा सहभागिता जनाएको जानकारी प्रतियोगिताका संयोजक एवं आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले दिए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार