साफ च्याम्पियनसिप : नेपाली टोली कुवेतसँग ३–१ गोलले पराजित


काठमाडौं, ६ असार । साफ च्याम्पियनसिप फुटबलको बुधवार भएको उद्घाटन खेलमा नेपाली टोली कुवेतसँग ३–१ गोलले पराजित भएको छ ।

कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो । नेपालले भने एक मात्र गोल दोस्रो हाफमा गरेको थियो । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतका लागि पहिलो गोल खेल सुरु भएको २३ औँ मिनेटमा कप्तान खालिद हाजिहले गरेका थिए । फवाज वालोताइबीले बायाँतर्फको कर्नरबाट उपलब्ध पासलाई सदुपयोग गर्दै उनले खाली पोस्टमा हेडमार्फत गोल गरेका थिए ।

त्यतिबेला नेपाली टोलीका गोलरक्षक किरणकुमार लिम्बु पनि अगाडि बढेका थिए । दोस्रो गोल भने निर्धारित समयको ४२ औँ मिनेटमा सबाइब अलखालदीले गरेका हुन् । उनले डिबक्स भित्रबाट गरेको प्रहार गोलरक्षक किरणलाई समेत छक्क्याउँदै गोलमा परिणत भएको थियो । कुवेतका लागि तेस्रो गोल निर्धारित समयको ६५औँ मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत गरेका हुन् । नेपालका रक्षापंक्तिका अनुभवी खेलाडी अनन्त तामाङले पेनाल्टी बक्सभित्र हातले बल छोएपछि कुवेतले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

नेपालका लागि भने ६८ औँ मिनेटमा अञ्जन विष्टले गोल फर्काएका थिए । त्यसअघि खेलको ३५ औँ मिनेटमा अञ्जन विष्टले विपक्षीको डीबक्स नजिकै बल पाएका थिए । कुवेतका डिफेन्ससमेत केही पछाडि थिए । तर, बल मिलाउन केही समय लाग्दा उनी गोल गर्नबाट चुके । त्यसलगत्तै ३५ औँ मिनेटमै मोहम्मद अब्दुल्लाहको हेड प्रहार पोष्ट (क्रसबार) मा लागेर फर्किएपछि नेपाल गोल खानबाट जोगिएको थियो । तुलनात्मक रूपमा अग्ला कुवेतका खेलाडीले गरेको थुप्रै सशक्त प्रहारलाई नेपालका गोलरक्षक किरणले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको दोस्रो हाफमा नेपालले कुवेतलाई गतिलो चुनौती दिएको थियो । दोस्रो हाफमा नेपाली खेलाडीले कुवेतको पोस्टमा पनि केही गतिला प्रहार गरेका थिए । नेपाली टोलीको रक्षापंक्तिका खेलाडी अनन्त तामाङले राष्ट्रिय टोलीबाट खेलेको यो ५० औँ खेल थियो । साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो १४ औँ संस्करण हो । यस पटक साफ च्याम्पियनसिपमा आठ वटा राष्ट्रको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत, बङ्गलादेश, भुटान, पाकिस्तान, मालदिभ्स, कुवेत र लेबनानले प्रतिस्पर्धा गर्दैछन् । विश्व फुटबल महासङ्घ (फिफा) को प्रतिबन्धमा परेका कारण श्रीलंकाले भने यो संस्करणमा सहभागिता जनाउन पाएन । यस पटक कुवेत र लेबनानलाई भने आमन्त्रित टोलीको रूपमा सहभागी गराइएको हो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार