काठमाडौं, ३२ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल घरेलु टोली फिलिपिन्ससँग पराजित भएको छ । फिलिपिन्सको रिजल मेमोरियल स्टेडियममा आज भएको खेलमा नेपाल फिलिपिन्ससँग १–० गोलअन्तरले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले गोल खाएको हो । फिलिपिनसका जार्भे गायोसोले खेलको ४९औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल सावित भयो ।
भारतमा आयोजना हुने १४औँ संस्करणको साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको हो । साफ च्याम्पियनसिप आगामी असार ६ देखि १८ गतेसम्म हुनेछ ।
च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भूटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ ।
त्यस्तै समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।


