काठमाडौं, ३२ जेठ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
मालेमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई ६६–६२ ले पराजित गर्दै विजयी भएको हो ।
यस जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको थियो ।
नेपालले आगामी असार २ गते बंगलादेशसँग तेस्रो खेल खेल्नेछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तान गरी पाँच देशको सहभागिता रहेको छ ।


