काठमाडौं, ३२ जेठ । विश्वकप छनोटको दोस्रो ‘वार्मअप’ म्याचमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको छ । टस हारेर नेपालले पहिला बलिङ गरेको थियो । नेपालले ब्याटिङ र बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो ।
ओमानले दिएको २ सय ६८ रनको लक्ष्य नेपालले ४४.५ ओभरमा ८ विकेट गुमाएर पुरा गरेको हो । सोमपाल कामीले ५, सन्दीप लामिछानेले ३ र प्रतिश जिसीले १ विकेट लिँदा नेपालले ओमानलाई अन्तिम ओभरमा २ सय ६७ रन बनाएको अवस्थामा अलआउट गर्यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले शानदार शतकीय इनिङ खेले । उनी ९४ बलमा १ सय १ रन बनाएर रिटायर्ड आउट भएका थिए । उनले क्रिज छोड्नु अघि १३ चौका र २ छक्का प्रहार गरे ।
अर्का ओपनर आसिफ शेख २४ बल खेल्दै २३ रनमा आउट हुँदा भिम सार्कीले ७४ बलमा ५६ रन जोडे । दीपेन्द्रसिंह ऐरीले २६ रन, कप्तान रोहित पौडेलले ३१ रन र कुशल मल्ले १७ रन जोडे । त्यो बाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाएनन् ।
नेपालले पहिलो वार्मअपमा युएईसँग तीन विकेटको हार बेहोरेको थियो । नेपाली टिम अहिले विश्वकप छनोटका लागि जिम्बावेमा रहेको छ ।


