वडाध्यक्ष यादवलाई फसाउने षड्यन्त्र गरिएको लोसपाको आरोप


जनकपुरधाम, ३२ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषाले जिल्लाको नगराइन नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष बुलन यादवलाई केहि असामाजिक तत्त्वले योजना बनाई फसाउने षड्यन्त्र गरेको आरोप लगाएको छ ।

सो पार्टीका जिल्ला सचिव जीवेन्द्र झाले बिहीबार एक विज्ञप्ती जारी गर्दै यस घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षन भएको जनाएका छन् ।

विज्ञप्तीमा वडाध्यक्ष यादव संलग्न नरहेको लेनदेनको विषयमा उनलाई बदलाको भावनाले प्रेरित भई फसाइएको दाबी गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘हामी पनि भ्रस्टाचार र घुसखोरीको विरुद्धमा छौं । कोही कसैले यस्ता क्रियाकलाप गर्नु हुँदैन । गरेमा कानून बमोजिम कारबाही हुनुपर्दछ । तर, निर्दोषलाई कसैको पुर्वाग्रहमा दण्डित पनि गरिनु हुँदैन । यस घटनाको स्वतन्त्र र निस्पक्ष रूपमा छानबिन होस भन्ने हाम्रो माग छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार साँझ नगराइन नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई पक्राउ गरेको थियो ।

वडाध्यक्ष यादव र सचिव मिश्रले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख रुपैयाँको योजनामा नगराइन–२ मा सडक निर्माण सम्पन्न भएपश्चात् सिफारिसवापत उपभोक्ता समितिका अध्यक्षसँग ७० हजार रुपैयाँ कमिशन मागेको निवेदनको आधारमा पक्राउ परेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार