काठमाडौं, ३२ जेठ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले नागरिकताविहीन नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न न्यायालयले मार्ग प्रशस्त गरिदिनु पर्नेमा जोड दिएका छन् । बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरूले नागरिकतासम्बन्धी विषयलाई न्यायालयले छिनो निरूपण गरिदिनुपर्ने बताएका हुन् ।
नागरिकता नपाउँदा शिक्षा, रोजगारीलगायत आधारभूत अधिकारबाट वञ्चित भएको जनाउँदै उनीहरूले सङ्घर्षमा उत्रिएका नागरिकताविहीन नागरिकका आवाज सुन्न सबै पक्षको ध्यानाकर्षण गरेका हुन् ।
सांसद अब्दुल खानले नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता दिन सबैले पहल गर्नुपर्ने बताए । सांसद रेखा यादवले नागरिकता विधेयकसम्बन्धी विषयलाई न्यायालयले छिनो निरूपण दिनुपर्ने बताइन् ।
आफ्ना देशमा बस्ने नागरिकलाई अनागरिक बनाउन नहुनेमा जोड दिँदै उनले आफू नेपाली भएर नै उनीहरूले नागरिकता माग गरेका विषयलाई सबैले गम्भीर रूपमा लिनुपर्ने बताइन् ।
सांसद डा. अमरेशकुमार सिंहले आलु प्याजमा भ्याट लगाएर सरकारले गौरवशाली इतिहास कायम गरेको टिप्पणी गर्दै जनताको दैनिकीमा प्रत्यक्ष असर गर्ने यस्ता निर्णय तत्काल खारेज गर्न माग गरे ।
सर्लाहीमा किसानले घरमा पालेर बिक्री गरेको खसी बोकालाई भन्सार छलेर ल्याएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद सिंहले प्रहरीका यस्ता गतिविधिले सीमा क्षेत्रमा बसोबास गर्ने किसानलाई समस्या भएको बताए ।


