गोरखा, ३१ जेठ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले केही तत्व मुलुकमा द्वन्द्व निम्त्याउने षड्यन्त्रमा लागिरहेको बताएका छन् ।
बुधबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुराकानी गर्दै उनले १० वर्षे द्वन्द्वको घाउ कोट्याएर मुलुकमा द्वन्द्व निम्त्याउनु दुर्भाग्यपूर्ण भएको बताए ।
१० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उनीविरुद्ध पूर्वलडाकू लेनिन विष्टलगायतले सर्वाेच्चमा मुद्दा दर्ता गरेका थिए । सो विषयमा प्रतिक्रिया दिँदै भट्टराईले केही पात्रहरुले उचालेर मुद्दा हाल्न लगाएको दाबी गरे ।
बृहत् शान्ति सम्झौताले सबै कुराको सम्बोधन गरिसकेको भन्दै उनले त्यसलाई आफूले गम्भीरतापूर्वक लिन नचाहेको उनको भनाइ छ । यसरी नै मुद्दा उठाउँदै जाने हो भने त्यसले देश दुर्घटनामा जानसक्ने उनले चेतावनी दिए ।
सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोग गठन गरेर यी समस्याको समाधान गर्नुपर्ने उनले बताए ।


