पत्रकारको स्वास्थ्य बीमा प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री पाण्डे


पोखरा, ३१ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र कार्यक्षेत्र भएका सबै पत्रकारको स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिने बताएका छन् ।

पत्रकारको हकहितका विषयमा प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिबाट आज ध्यानाकर्षणपत्र बुझ्दै उनले आगामी आवको बजेटमा उक्त कार्यक्रम समावेश हुने उल्लेख गरे ।

लोककल्याणकारी विज्ञापन, पत्रकारको लेखनवृत्ति, क्षमता विकासलगायतका क्षेत्रमा पनि सरकारले सहयोग गर्ने उनले बताए । मुख्यमन्त्री पाण्डेले पत्रकारिता स्वच्छ, स्वतन्त्र र मर्यादित हुनुपर्ने धारणा राखे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा प्रदेश सरकार दृढ रहेको उनको भनाइ थियो ।

प्रेस सेन्टरले पत्रकारितासँगै देशको समसामयिक अवस्थाबारे आज प्रधानमन्त्रीसहित, सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रले भोगिरहेका समस्याको समाधान गर्न माग गरिएको छ ।

सरकारले ल्याएको समानुपातिक विज्ञापन नीतिलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने, संविधानले सुरक्षित गरेका जनपक्षीय उपलब्धिलाई संस्थागत गर्नुपर्ने, आमसञ्चारसँग सम्बन्धित कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्ने, पत्रकारलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्नुपर्नेलगायतका माग गरिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार